Saturday, October 08, 2005

मैले यो कविता पोहोर साल नेपाल जाँदा अगेनाको छेउमा बसेर डाडुले दुध चलाउँदै गर्दा लेखेको थिएँ। कम्प्युटरमा टाईपगर्ने जाँगर नभएर मात्र पोस्ट गर्न सकेको थिइन। कविताको न्वारान चाहिँ गरेको छैन।
--------------------------
आगो बल्यो, सानो आगो शुरुमा
घाम पानी खाएका सालका चिर्पटहरू
अति भयो बञ्चरोको चोट
सहन सकिन्न अब भनेर आफै होमिए
आगो बिस्तारै ठूलो भयो
आगो, त्यो क्रान्तिको आगो
बढ्दै गयो
चोइटाहरू होमिदै गए
बञ्चरोको मारले उच्छिट्टिएका चोइटाहरू
अलिकति यहाँको चोइटा
अलिकति त्यहाँको चोइटा
आगो अब ठूलो भयो
सालका चिर्पटहरू सकिए
चोइटाहरू पनि सकिए
आगो निभ्न चाहेन
वरिपरिका हरिया झारपात, घाँसपात होमिए
धुवाँ पुत्लायो
आगो निभेको हो कि जस्तो भयो
भित्र आगो क्रान्तितर शक्ति शोस्दै थियो
हरिया घाँस र झारपातबाट
सुके हरिया पातहरू
खोक्रा भए
अनि, आगो फेरि दन्कियो
पहिले भन्दा शक्तिशाली भएर
निर्लज्जरुपमा
घाँस र झारपातहरू होमिदै गए
आगो पुत्लाउँदै
अनि शक्तिशाली हुँदै बल्दै गयो
घरहरू होमिन थाले,
गाउँहरू होमिन थाले
आगोले जंगल खायो
सालका बुट्यानहरू पनि होमिए
ठूलो नहुँदै
अनि
आगो निभाउन हिंडेकाहरू
पानी भनेर, मट्टितेल छर्कँदैछन्
आगो दन्किदो छ।
----------------
पौष १३, २०६१