Wednesday, April 12, 2006

मैले यो पर्चा आज मात्रै ईमेलमा पाएको हुँ। यसलाई हुबहु यहाँ उतारेको छु। यदि कुनै गल्ति भएको पाउनु भएको खण्डमा, कृपया यहि ब्लग मार्फत् मलाई सुचित गरिदिनुभएमा आभारि हुने थिएँ।
दिपेश
-------------------------------------------------------------

राजा ग्यानेन्द्रलाई केहि प्रश्न

झ्याल ढोका सबै बन्द गरेर बिरालालाई कोठामा चुट्दा आत्मरक्षाका लागि बिरालो आफूलाई चुट्नेमाथि झम्टिन पुग्छ। यो प्राकृतिक न्याय हो। अहिले स्वतन्त्र भएर घुमफिर गर्ने र आफ्ना न्यायपूर्ण आकांक्षा प्रकट गर्ने सबै नागरिक हकहरूमाथि बन्देज लगाएर बन्देजविरुद्ध मुख खोल्न साहस गर्ने नागरिकहरुमाथि हिटलरलाई पनि बिर्साउने ज्यादती थोपरिँदा राजाको शासनमा नागरिकहरुको अवस्था बन्द कोठामा चुटिने बिरालाको जस्तै भएको छ। त्यसैले प्रताडनामा परेका नागरिकहरु आफ्नो शारीरिक र नैतिक अस्मिताको रक्षा गर्न मुलुकैभरि आक्रोषको सामूहिक भषामा बोल्न थालेका छन्। हामीलाई के लाग्छ भने अब राजासँग ठडो संवाद गर्ने बेला आएको छ। सर्वसाधारण नागरिकहरु भवनात्मक कुरा त्यति धेरै बझ्दैनन्। तर ज्यान र धनका कुरा तिनले राम्रैसँग बुझ्छन्। त्यसैले मुलुकभरिका निरङ्कुशतन्त्रविरोधी नागरिकहरुका तर्फबाट हामी राजा ग्यानेन्द्रलाई केही प्रश्न सोध्दैछौँ।

१ पर्दा पछाडि बसेर तुलनात्मकरुपले भलाद्मी र उदार मानिने राजा वीरेन्द्रको परिवारको हत्या गर्ने षडयन्त्रको तानाबाना बुनेको कसले हो?

२ राष्ट्रियकरण गरिनुपर्ने राजा वीरेन्द्रको परिवारको सबै सदस्यका नाममा भएको खरबौँ रुपियाँको सम्पत्ति आफै हडपेको कसले हो? त्यो सम्पत्तिको एक्किन हिसाब कति हो?

३ दाजु वीरेन्द्रका पालामा दरबारको वर्षिक भत्ता १२ करोड रुपैयाँ थियो। शासनको बागडोर आफ्ना हातमा लिएपछि आफुखुशी बढाउँदै लगेर भत्ताको रकम अहिले कति वा अरब पु-याइएको छ? जनताका रगत र पसिनाबाट राज्यको कोषमा जम्मा भएको रकम कसको अनुमतिले यसरी बर्मलूट गरिएको हो?

४ आफ्नै हुकुमअनुसार गराइएका अभिनन्दन, देवीदेवताहरुको पाखनण्डपूर्ण दर्शन आदिमा नाश गरिएको रकम कति हो?

५ युवराज पारस गोठालो भएर अष्ट्रियाको चिडियाखानामा गैँडा पु‍-याउन जाँदा कति रकम बर्बाद गरिएको हो?

६ मुलुकमा बहुसङ्ख्यक जनता गरिबी र द्वन्द्वको मारमा परेर भोकै र नाङ्गै तड्पिरहेको बेला दरबारका लागि कतिवटा बुलेटप्रुफ गाडी खरिद गरिएका छन्? त्यो कुन श्रोतबाट कुन नियमका आधारमा झिकिएको रकम हो? अनि त्यो विलासी खर्चको कुल रकम कति हो?

७ राजनैतिक, आर्थिक र कुटनैतिक कुनै दृष्टिले पनि एकरत्ती अर्थ नराख्ने अफ्रिका भ्रमणमा राज्यकोषको कति रकम खरानी पारियो?

८ जारी द्वन्द्वको न्यायपूर्ण समाधानलाई बेवास्ता गर्दै युद्ध र सैन्यवादलाई बढाएर हातहतियार र गोलाबारुद खरिद गर्दा राजालाई कति कमिसन लाभ भएको छ?

९ राज्यलाई कङ्गाल पारेर कुनकुन बैङ्कमा कति रकम थुपारिएको छ?

१० अगाडिका कुरा नगरौँ, लोकतन्त्रका पक्षमा अहिले चलिरहेको शान्तिपूर्ण आन्दोलनमा मात्र पाँचजना नागरिको जघन्य हत्या भइसकेको छ। मन्दिर, शिक्षालय, अस्पताल, पसल र घरघरमा निर्मम कुटपिटमा परी हजारौँ नागरिकहरु अपमानित र प्रताडित भएका छन्। अङ्गभङ्ग हुनेहरुको सङ्ख्याले पनि हजार नाघिसक्यो होला। छर्लङ्गै देखिएको कुरा के हो भने यो ज्यदतिका दुई नम्बरका अपराधी गृहमन्त्री कमल थापा हुन्। कमल थापालाई हदैसम्म ज्यदती गर्न आदेश दिने एक नम्बरको अपराधी को हो?

११ राजालाई स्वतन्त्रताप्रेमी नागरिकहरुलाई मार्ने र राज्यकोषको रकम बर्मलूट गर्ने अधिकार कुन विधि, नीति र नियमबाट प्राप्त भएको हो?

१२ दरबारको कुनै सदस्यले आफैँ चलाएको महेन्द्र प्रकृति संरक्षण कोषको पजेरोले किचेर कलाकार प्रवीण गुरुङको ज्यान लिएको ज्यदती इतिहासमा मेट्नै नसकिने गरी लेखिपको छ। के कलाकारका हत्यारालाई राजाले न्यायको कठघरामा उभ्यउनु पर्दैन?

यी मुलुकका लोकतन्त्रप्रेमी, विधिको शासनप्रेमी र शान्तिप्रेमी नागरिकहरुका न्यायोचित प्रश्नहरु हुन्। यी प्रश्नहरुको सार्वजनिक रुपले उत्तर दिन राजा ग्यानेन्द्रलाई मुलुकभरिका नागरिकहरुले एक साताको म्याद दिएका छन्।

हामी हौँ राजाधानीका जागेका नागरिकहरु
२८ चैत २०६२
-------------------------------------------------------------------

0 Comments:

Post a Comment

<< Home