Saturday, April 15, 2006

आन्दोलन सकिइसकेको छ। राजपरिवार विदेश पलायन भइसकेका छन्। सिँहदरबार अगाडि मानिसहरुको भिडको बिचबाट 'ऐया ऐया' को आवाज आइरहेको छ। म अन्तर्ध्यान भएर यो सबै हेर्दै छु। 'के रहेछ त?' म आफैलाई खुल्दुली लाग्यो। भिडलाई पन्छाउँदै अगाडि बढेर हेरेको त बिचमा कमल थापालाई मानिसहरुले कालो मोसो दलेर 'तैँ हैन गोली हान्ने आदेश दिने', 'तैँ हैन पुलिसलाइ भिडको बिचबाट ढुँगा हान्न लगाएर माओवादीको घुसपैठ भयो भन्ने', भन्दै गोद्दै थिए। एकैछिनमा पुलिसको एक जत्था त्यहाँ आइपुग्यो। 'ल तपाईँहरु यहाँबाट हट्नुस। यो मान्छेलाइ हामीले लिएरजानु भन्ने आदेश आएको छ।', भन्दै उनीहरु आ-आफ्नो पोजिशन लिन थाले। भिडमध्यबाट केही व्यक्तिहरु बाहिर निस्केर त्यसको प्रतिकार गर्न थाले। 'यो हत्यारालाई हामी छोड्दैनौँ।' 'ल, तपाईँहरुले त्यसो भनेर कहाँ हुन्छ।' पुलिसहरुले पनि मनाउने प्रयास गरे। 'नछोडे के गर्ने, हामीलाई गोली हान्ने?' भिड उत्तेजित हुन थाल्यो। कमल थापालाई बिचमा राखेर, बाहिरपट्टि मानिसहरुले एउटा घेरा बनाए। पुलिसहरु असमन्जसमा परे। के गर्ने, के नगर्ने? 'हैन, तपाईँहरुले त्यसो गर्न भएन।' तैपनि लागि हाल्छ कि भनेर पुलिसहरुले फेरी एक पटक मनाउने प्रयास गरे। भिड झन् उत्तेजित भयो। घेराको भित्र पट्टिरहेका मानिसहरुले कमल थापालाई बेस्मारी कुट्न थाले। पुलिसलाई पनि आफ्नो आदेशको पालना गर्नु थियो। मानिसहरुलाइ हत्याको तत्काल बदला लिनु थियो। एकै छिनमा अवस्था हातबाट बाहिर गयो। पुलिसले गोली चलायो। केही मानिस हताहत भए। बाँकि तितरबितर भए। पुलिसले कमल थापालाई लिएर गयो। एक महिना पछि अदालतले आफ्नो निर्णय सुनायो। 'श्री कमल थापाका विरुद्ध कुनै ठोस सबुत फेला नपरेकाले उहाँलाई रिहागर्नकालागि यो अदालत सरकारलाई आदेश दिन्छ।'

0 Comments:

Post a Comment

<< Home