Sunday, April 23, 2006

जनआन्दोलनप्रतिको ऐक्यवद्दता
-----------------------------

हामी अमेरिका स्थित लुइजियाना राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा नेपालका शुभचिन्तक हाल जारी गणतान्त्रिक आन्दोलन प्रति ऐक्यवद्दता व्यक्त गर्दछौँ।

अहिले नेपालमा भइरहेको शान्तिपूर्ण जनआन्दोलनमा सहभागी नेपाली नागरीकहरु माथि प्रहरी तथा सेनाद्वारा गरिएको बर्बरतापूर्ण लाठीचार्ज, अश्रुग्यास तथा गोली प्रहारको हामी घोर निन्दा गर्दछौँ। यस्तो अमानवीय एवं कायरतापूर्ण बल प्रयोगलाई कुनै पनि दृष्टिकोणबाट न्यायोचित मान्न सकिंदैन। आर्थिक एवं औद्दोगिक विकासका लागि लाग्नुपर्ने एक्काईसौँ शताब्दीमा राज्यले जनमानसमाथि गरेको दमन, संचारमाथि लगाइएको गैरकानूनी अंकुश, पत्रकारितामाथिको अनावश्यक नियन्त्रण सरकारी तानाशाही प्रवृतिका ज्वलन्त उदाहरणहरु हुन्। आम नेपाली जनमानसको संलग्नता र अन्तत: निर्माणहुने उदार राजनीतिक वातावरणका लागि लोकतान्त्रिक गणतन्त्र अपरिहार्य छ भन्ने हामीले मनन गरेका छौँ। यसै उद्देश्य प्राप्तिका लागि लागिपरेका सम्पूर्ण नेपाली एवं नेपालप्रेमी आन्दोलनकारीप्रति हामी खुला हृदयदेखि समर्थन अभिव्यक्त गर्न चाहन्छौँ। गणतान्त्रिक जनआन्दोलनले आफ्नो उद्देश्य प्राप्त गरी मूर्त रूप लियोस् भन्ने हाम्रो कामना छ। यस अभूतपूर्व आन्दोलनलाई सार्थक बनाउनका लागि विश्वभरका सम्पूर्ण नेपाली एवं नेपाली हितैषीमा आफ्नो तर्फबाट सक्दो सहयोग पु-याउन हामी आह्वान गर्दछौं।

नेपालको वर्तमान सन्दर्भमा राजाको कुनै औचित्य छैन। त्यसकारण अब राजाबाट कुनै घोषणा होला र अनि कुरा अगाडि बढाउँला भनेर बस्ने बेला छैन। अबको निकास भनेको राजालाई बाईपास गरेर सात पार्टी तथा माओवादीको गठबन्धनले अन्तरिम सरकारको घोषणा गर्नु हो। त्यस सरकारले अन्तराष्ट्रिय जगतमा आफूलाई आधिकारिक मान्यता दिनका लागि आह्वान गर्नुपर्छ, र अन्तराष्ट्रिय जगतले उक्त सरकारलाई मान्यता दिनु पर्छ। यदि मान्यता नदिएको खण्डमा अन्तराष्ट्रिय जगत नेपालको सन्दर्भमा अप्रासंगिक हुनेछ। त्यो सरकार जनसमर्थनबाट आएको हुनाले त्यसलाई कार्यकारी अधिकार हुनेछ। त्यही कार्यकारी अधिकार प्रयोग गरेर नयाँ संविधानको घोषणा गर्नु पर्छ।

लुइजियाना राज्य निवासी सम्पूर्ण नेपाली एवं नेपालका शुभचिन्तक
संयुक्त राज्य अमेरिका

0 Comments:

Post a Comment

<< Home