Monday, September 19, 2005

I copied following article from INSN. I don't know whether it is copyrighted material or not. Even if it is, I don't care.

पन्ध्र महिना पछि आकाश नियाल्दा

भाइकाजी घिमिरे
- गत २०६० मंसिर १७ गते दिउँसो २ बजे कार्यालयको कामका सिलसिलामा क्षेत्रपाटीतर्फ जाँदै गर्दा पक्राउ परें । अचानक २ जना अपरिचित व्यक्तिले मोटरसाइकल रोक्न लगाई मलाई जबरजस्ती समाउन खोज्दा म आत्तिएँ, जसबाट छुटकारा पाउन प्रतिरोध गर्न खोज्दा अरू १०/१२ जना अपरिचितले पेस्तोल टाउकामा राखी ‘बल नगर, सिध्याइदिन्छु’ भनेर धम्की दिए ।त्यसपछि रातो प्लेट भएको सेतो भ्यानमा राखेर आँखामा कालोपट्टी र हातमा हत्कडी लगाएर करिब २ घन्टा कुदाएपछि उनीहरूले मलाई गाडीबाट भुइँमा बसाए । त्यस दिन खाना पनि त्यहीँ ल्याएर दिए । मसँग कुनै किसिमको सोधपुछ गरिएन । ९८४१-२२९५३३ नम्बरको पि्रपेड मोबाइल र बा१६प ४०९७ नम्बरको लिभिरो मोटरसाइलसहित पत्रिकाको रबर छाप पनि साथमै थियो । उनीहरूले मेरो साथमा भएका सबै सामान कब्जामा लिए र एउटा ठूलो हलजस्तो कोठामा लगेर पुरानो मण्डी दिए । हलभित्र अरू पनि थुप्रै मानिस थिए । सुत्न साह्रै अप्ठ्यारो थियो । त्यसपछि एक्कासि तेस्रो दिनको राति ११/१२ बजेतिर २ जना अपरिचितले बाहिर लगी सोधपुछ गर्न थाले । सोधपुछकै क्रममा एक जनाले यसको सबै कपडा खोलिदे भन्ने आदेश दिए । मेरो सबै कपडा फुकालियो । त्यस बेलासम्म मलाई के कारणले पक्राउ गरिएको हो भन्ने थाहा थिएन । उनीहरूले मलाई ‘तँ माओवादीको कुन तहमा काम गर्छस् तेरो हैसियत के हो ?’ भन्न थाले । बल्ल थाहा भयो- मलाई माओवादीको आरोपमा ल्याइएको रहेछ । आफ्नो माओवादीसँग कुनै सम्बन्ध नभएको यथार्थ बताउँदा पनि मलाई शारीरिक यातना दिन थालियो । त्यति बेला पाएको बर्बर यातनाका दाग शरीरमा अझै छन् ।
जति यातना दिए पनि मैले माओवादीसँग असम्बन्धित व्यक्ति भएको अडान लिइरहेँ । त्यसपछि उनीहरूले मलाई ‘तेरो पत्रिकाले संविधानसभाका बारेमा वकालत गरेको छ, त्यसकारण तँ माओवादी नभए अरू के हुन सक्छस् ?’ भन्दै पिट्न थाले । मैले ‘संविधानसभाको पक्षमा लेख्दा माओवादी भइँदैन, संविधानसभा त प्रजातान्त्रिक विधि हो, यसले देशको सम्पूर्ण वर्ग तह र तप्काको प्रतिनिधित्व गर्छ र देशको समस्या समाधानमा सहयोग पुर्‍याउँछ’ भन्दा उनीहरूले ‘हामीलाई सिकाउँछस्’ भन्दै पिटे । फोहोर पानीको ठूलो ड्रममा आधा शरीर डुब्ने गरी पानीमा खुट्टा माथि र टाउको तल पारी डुबाउन थाले । त्यो बेला मलाई मृत्युको नजिक पुगेको अनुभूति हुनथाल्यो । हातमा हत्कडी, आँखामा कालोपट्टी बाँधेकै अवस्थामा बर्बर यातना सुरु भएपछि म बेहोस अवस्थामा पुगें । धेरै समयसम्म यो प्रक्रिया जारी रह्यो । लामो समयपछि पानीबाट बाहिर निकाल्दा मलाई सास फेर्न साह्रै गाह्रो भएको थियो ।
केही पछि उनीहरूले मलाई सोध्न थाले ‘तँ माओवादी नभए पनि तैंले माओवादी चिनेको त छस् नि, उनीहरूका बारेमा भन, नत्र मारिदिन्छौं’ भन्ने धम्की दिए । मैले कसैलाई चिन्दिन भनेपछि फेरि पहिलेकै जस्तो गरी पानीको ड्रममा डुबाउन सुरु गरे । दोस्रो पटकको डुबाइमा मलाई मरणाशन्न अवस्थामा पुर्‍याएर बाहिर निकाले । त्यो बेला म अर्धचेतनामा भएकाले उनीहरूका कुरा सुनिमात्र रहेको थिएँ । उनीमध्येका कोही भन्दैथिए- ‘यसलाई खाल्डामा हालेर प्लास्टिकले राम्रोसँग छोपेर गन्ध नआउने गरी पुरिदे ।’ कोही भन्दै थिए, ‘भन् न भन् ।’ एउटाले चाहिँ ‘तेरोे अन्तिम इच्छा के छ ?’ भनेर साध्दै थियो । त्यतिबेला मैले साँच्चै मरिने भो भन्ठानेर ‘मेरी बुढी आमासँग एकचोटि कुरा गराइदिनुहोस् भनें ।’
मेरो आग्रहलाई बेवास्ता गर्दै उनीहरूले फेरि भने, ‘तँ किन मर्ने ? केही कुरा भन या कुनै माओवादीलाई पक्राइदे ।’ मैले पुनः त्यही पुरानै कुरा दोहोर्‍याएँ । त्यसपछि उनीहरूले पानीको ड्रममा पुनः डुबाउने र उतार्ने गर्न थाले । त्यतिबेलासम्म मात्र थाहा छ त्यसपछि के के भयो मलाई नै थाहा छैन । किनभने म पूर्णरूपमा बेहोस भइसकेको थिएँ । होसमा आउँदा पहिले सुताएको ठाउँमा स्लाइन चढाएर राखेको अवस्थामा आफूलाई पाएँ । त्यतिबेला मेरो शरीरभरि रगत बगिरहेको थियो । नाक, मुख, कान पूरै सुनिएको थियो । मलाई सात दिनपछि बिहान ११ बजे कोठाबाट बाहिर ल्याइयो र विभिन्न किसिमका धम्की दिइयो । उनीहरूले भन्न थाले, ‘तँलाई हामीले बचाउन नसक्ने भयौं । तेराबारेमा अरू साथीले सबै कुरा भनिसके । अब हामीलाई तेरो मुखबाट मात्र सुन्न बाँकी छ । बाँच्ने मन भए भन् नत्र मर्लास् ।’ मैले ‘मलाई केही थाहा छैन । तपाईंलाई विश्वास नलागे मारिदिनुस्’ भनेपछि ‘साले घामट’ भन्दै २०/२५ लट्ठी हाने । त्यस दिनदेखि मलाई कहिल्यै सोधपुछ गरिएन, राखियोमात्रै ।
यसरी राख्ने क्रममा अत्यन्त भयानक किसिमको मानसिक पीडा दिने गरियो । शारीरिक पीडा त बयान गरी साध्य छैन । बिहान शौचालय जाँदा एक मिनेटमा दिसा गर्नुपर्ने, त्यो समयमा नभ्याए अमानवीय ढंगले पिटाइ खानुपथ्र्यो । पिसाब फेर्न जाँदा चार लट्ठी, आउँदा चार लट्ठीका दरले पिट्ने गर्थे । पानीबिना नै दिसापिसाब गर्नुपर्ने, पिसाब फेर्न जाँदा सानो शौचालयमा एकपटकमा सात/आठ जनालाई एकैचोटि पठाउने गरिन्थ्यो । शौचालय सानो भएकाले एउटाको दिसापिसाब अर्काको शरीरमा पर्न जान्थ्यो । हामीलाई दुःख दिन राति १/२ बजे ‘फिजिकल’ गर्न लगाइन्थ्यो ।
त्यतिले नपुगेर राति सुतेका बेला प्रत्येक घन्टा १५/२० मिनेेट उठाएर राख्ने गरिन्थ्यो । ३ महिनासम्म हामीलाई नुहाउन, लुगा धुन, हातमुख, दाँत सफा गर्न, कपाल काट्न पूर्णरूपमा वञ्चित गरियो । तीनमहिनापछि मात्र कपाल काट्न र हप्तामा एकचोटी दाँत सफा गर्न दिइयो । खानाका रूपमा आधा प्लेट भात र दाल दिइन्थ्यो । त्यतिले नपुगेर हामीले भुइँमा झरेको भातको सितासमेत टिपेर खायौं । जाडो समयमा चिसो भुइँ, कपडाको अभाव र खानाको कमी इत्यादि कारणले म सुनिएको थिएँ । खाना खाँदा र बिहान शौचालय जाँदाबाहेक पूरै समय हात पछाडि बाँधिन्थ्यो, पानी खान कठिनाइ हुन्थ्यो । उनीहरू आफैंले पानी मुखमा हालिदिन्थे, जसका कारण पानी नाक र आँखाभरि पथ्र्यो, तर मुखमा भने थोरै पथ्र्यो । तिर्खा मेटिने गरी कहिल्यै पानी खान पाइएन । एवं रीतले भैरवनाथ गणमा १३ महिना १७ दिन राखी ०६१ माघ ३ गते हामीलाई त्यहाँबाट राति ट्रकमा राखी अज्ञात स्थलतर्फ लगियो जुन ठाउँ अत्यन्त चिसो थियो । ट्रकबाट ओरालेपछि पट्टीमाथि फेरि टाउकोसमेत छोपिने गरी अर्को पट्टी घाँटीसम्म आउने गरी बानियो । त्यहाँबाट ३०/४० मिनेटको बाटो हिँडाइयो । बाटो अत्यन्त अप्ठ्यारो खाल्डाखुल्डी परेको थियो । हामीले एक आर्कालाई समाएका थियौं । हात पछाडि बाँधिएकाले एक अर्कालाई समाउन पनि निक्कै कठिन थियो । एक अर्कालाई छाड्नासाथ उनीहरूले पिट्न थाल्थे । त्यो समयको सम्झना गर्दा मलाई अंग्रेजहरूले भारतीय नागरिकलाई गरेको दुव्र्यवहारको फिल्म र दन्त्यकथामा राक्षसहरूले गरेको अत्याचारको याद हुन्छ । त्यसपछि हामीलाई एउटा घरमा राखियो । भुइँमा सिमेन्ट थियो । त्यहाँ हामीसँग ओढ्ने र ओछ्याउने केही थिएन । अत्यन्त चिसो ठाउँ भएकाले हामीलाई त्यो कष्ट सहनुभन्दा मर्न ठीक लागिरहेको थियो । तीन दिनपछि हामीलाई भैरवनाथ गणमा राख्दा दिएको पुरानै मण्डी ल्याएर दिइयो । हामीलाई पुर्‍याएको कुन ठाउँ हो भनी याद गर्दा र पालेहरूले बोलेको सुन्दा शिवपुरी ब्यारेकमा राखिएको रहेछ । त्यहाँ हामीलाई शौचालय जाँदा र मुख धुँदा घाँटीमा डोरी लगाई पशुलाई जस्तो बाँधेर लगिन्थ्यो । शौचालय बस्दा बाहिर उनीहरू डोरी समाएर बस्थे । एवं रितले त्यहाँ राखेर मलाई माघ २२ गते शिवपुरी ब्यारेकबाट फेरि भैरवनाथ गणमा नै ल्याए । त्यसै दिन मलाई राति राजदल गण लगनखेल ललितपुरमा लगियो ।
फागुन १२ गते जिप्रका ललितपुरको आदेशले नजरबन्दको मुद्दा लगाई मलाई नख्खु जेल चलान गरियो । १५ महिनापछि बल्ल मेरो हातको हत्कडी र आँखाको पट्टी खोलेपछि मैले १५ महिनासम्म देख्न नपाएको आकाश र यो संसारलाई नियाल्न पाएँ । पहिलो रात जेलमा सुत्दा मेरो हात नबाँधिएकाले मलाई रातभर निद्रा लागेन । बिहान ३ बजे हात पछाडि च्यापेर निदाएँ । त्यसपछि मात्र मैले आप\mना परिवारलाई भेट्न पाएँ ।
जेलमा आएपछि, पत्रकार महासंघ र मानवअधिकारवादी संघसंस्थाले मेराबारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाएर सहयोग गरेको थाहा पाएँ । उहाँहरू सबैलाई म हृदयदेखि धन्यवाद दिन्छु । कारागारमै पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीसहितको टोली मलाई भेट्न आएको थियो । मलाई कारागारमा राखिएको १ महिनासम्म थुनुवा पुर्जी मेरो हातमा दिइएको थिएन । यो खबर मैले महासंघमार्फत जानकारी गराएपछि पत्रपत्रिकामा ‘पुर्जीबिना पत्रकार अझै थुनामा’ भनेर समाचार प्रकाशित भयो । त्यसपछि बल्ल मलाई पुर्जी दिइयो ।
पुर्जी हेर्दा त मलाई माघ २६ गते जिल्ला प्रशासन ललितपुरले नजरबन्दमा राख्नु भनी निर्णय गरेको रहेछ । तर मलाई फागुन १२ गतेमात्र कारागार ल्याइयो । कारागार ल्याउनुअघि राजदल गणमा फागुन १० गते मेरो हातमा कटुवा पेस्तोल एक थान र पाँच राउन्ड गोली राखेर फोटोसमेत खिचिएको थियो ।
कारागार ल्याएको साढे पाँच महिनापछि पत्रकार महासंघको अनुरोधमा बार एसोसिएसनको सहयोगमा मेरी श्रीमती पम्फा घिमिरेले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गराई यही भदौ ९ गते सर्वोच्च अदालतको आदेशबाट म रिहा भएको छु । मुक्त भए पनि अझै असुरक्षित भएकाले मेरो रिहाइका लागि पहल गर्नुहुने सम्पूर्ण मानवअधिकारवादी संघसंस्था र पत्रकार महासंघलगायत विभिन्न समुदायमा पुनः पहलका लागि हार्दिक अनुरोध गर्छु ।
-िघिमिरे समदृष्टि मासिकका पत्रकार हुन् ।)

0 Comments:

Post a Comment

<< Home