Sunday, September 25, 2005

(Courtesy: Dristi)

म मात्रै होईन, यो देशमा मजस्ता भोकै बस्ने धेरै छन् - रुविन गन्धर्व

राजधानीको आन्दोलनमा सारङ्गी रेट्दै गीत गाउने १४ बर्षीय रुविन गन्धर्व गोरखाबाट गतवर्ष काठमाडौ छिरेका हुन्।

कहाँ बस्नु हुन्छ ?

- बालाजु ।

को सित ?
- दाई सित बस्थें । तिन चार दिन देखि कोठामा आउनु भएको छैन ।

दाजु के गर्नु हुन्छ ?

- बीबीएस तेस्रो वर्षमा पढ्नु हुन्छ ।

दाजु क्याम्पस पढ्ने, भाईचाहिं सारङ्गी बोक्दै हिंड्ने ?
- जसले जे जान्यो त्यहि गर्ने त हो नि। एक भाईलाई सारङ्गी बजाउन आउंदैन पढ्नु हुन्छ, मलाइ पढ्न आउंदैन सारङ्गी बजाउंछु।

तपाईं किन नपढ्नुभएको?

- म चार कक्षामा पढ्दा बुबा बिरामी हुनुभयो। बा'को स्याहारसुसार र घरको काम गर्नुपर्यो।

जेठोदाईले स्याहार नगरेर तपाइँले पढाई छाड्नुभएको?

- रहरले छाडेको होइन। घरपरिवारले छाड्नलगाएको हो।

किन त?

- दाइ आईए गर्दै गरेको मान्छे। धेरै पढेकालाई बिगार्नु हुँदैन भनेर दाइलाई पढ्न दिएँ। मैले पढाईछाड्नु पर्यो।

आजभोलि पढुँपढुँ लाग्दैन?

अब नन्दरात्रि स्कूलमा पढ्ने विचार गरेको छु।

किन रात्रि स्कूलमै पढ्ने विचार गर्नुभयो त?

- दिउँसो दिउँसो आन्दोलन तिर हिँड्नु पर्छ, त्यसैले।

आन्दोलन किन गर्नुपर्यो?

- राजालाई पराजित गर्न।

राजालाई किन पराजित गर्ने?

- राजाले जनताको अधिकार खोसेका छन्। हाम्रा समस्या बुझ्ने राजा भएको भए मैले यसरी सारङ्गी बजाउँदै डुल्नु पर्दैनथ्यो। मेरै गाउँको स्कूलमा पढिरहेको हुन्थें।

राजालाई कसरी पराजित गर्ने त?

- म गीत गाएरै राजालाई पराजित गर्छु।

अब के हुनु पर्छ त देशमा?

- गणतन्त्र आउनुपर्छ।

के हो गणतन्त्र भनेको?

- राजा नभएको जनताको शासन। गणतन्त्र आएपछि शासन गर्ने अधिकार हामीजस्ता जनताको हुन्छ।

यो त माओवादीको कुरा भएन ?

- यो सारङ्गीलाई बन्दुक देख्नु भयो कि क्या हो?

आम्दानी कस्तो छ?

- सारङ्गी रेट्दै हिँड्नेको आम्दानी कस्तो हुनु नि? कहिले खान पुग्ने पैसा हुन्छ, कहिले भोकै पनि बस्नु पर्छ।

भोकै बस्दा दुःख लाग्दैन?

- जनताको पक्षमा गीत गाउनेलाई के को दुःख? म मात्रै होइन, यो देशमा मजस्ता भोकै बस्ने धेरै छन्।

यस्तो किन भएको होला?

- जनताको शासन नभएकोले हामी भोकै बस्न परेको हो। यो देशमा हाम्रो समस्या सुन्ने शासकहरुनै छैनन्।

नेताहरुले पनि सुन्दैनन्?

- नेताहरुले सुन्ने मात्रै होइन, सहयोग पनि गर्छन्। खाना खान जसकोमा गए पनि दिन्छन्, तर जान मन लाग्दैन।

0 Comments:

Post a Comment

<< Home